पेस्तोल र गोलीसहित सुनसरीमा दुईजना पक्राउ

काठमाण्डु टुडे २०८३ असार २४ गते १४:१० मा प्रकाशित

काठमाण्डू, २४ असार– प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ५१ वर्षीय नुर महम्मद र वडा–८ अशोक चोक बस्ने ३२ वर्षीय ईमरान खान भन्ने मो. अहमद रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई गएराति सुनसरीको गढी गाउपालिका–१ मधेलीस्थित झण्डाचोकमा पैदल हिंडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरीएको प्रहरीले जनाएको छ । नुर महम्मद ०६४ कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट हातहतियार तथा खरखजाना र जवरजस्ती करणी उद्योग मुद्दा दर्ता भई १२ वर्ष कैद सजाय भुक्तान गरी छुटेका थिए ।

उनका साथी इमरान खान भन्ने मोहमद अहमद ०७५ चैत १९ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट चोरी मुद्दा चलेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूको शरीर खानतलासी गर्दा एकथान चाइनिज पेस्तोल उक्त पेस्तोलमा लाग्ने म्याग्जिन एक थान र ३ राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।

दुवैलाई दुहवी नगरपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा लिएर थप अनुसन्धान सुरु गरीएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us