काठमाडौं- साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ ।
मियामी स्टेडियममा सम्पन्न राउन्ड अफ ३२ को खेलमा केप भर्डेलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिनाले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। तर, ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल फर्काएपछि निर्धारित समय १–१ को बराबरीमा सकियो र खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्त समयको दोस्रो मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केप भर्डेलाई फेरि बराबरीमा फर्काए ।
तर, खेलको १११औँ मिनेटमा डाइनी बोर्जेसबाट आत्मघाती गोल भएपछि केप भर्डे ३–२ ले पराजित हुन पुग्यो ।
नवप्रवेशी केप भर्डेले साविक विजेताविरुद्ध सशक्त प्रदर्शन गरे पनि हारबाट जोगिन सकेन ।
अब अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।