एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युरोपेली नेटो सहयोगी राष्ट्रहरूप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन । अमेरिका–इरान युद्धमा युरोपेली राष्ट्रहरूले समर्थन नगरेको र रक्षा खर्चमा ठूलो असमानता रहेको भन्दै ट्रम्पले गठबन्धनमा युरोपेली मुलुकको वर्तमान योगदानलाई हास्यास्पद र सम्बन्धलाई एकतर्फीको संज्ञा समेत दिएका छन ।
टर्कीको राजधानी अङ्कारामा आगामी जुलाई ७ र ८ मा हुन गइरहेको नेटो शिखर सम्मेलनको सङ्घारमा ट्रम्पको यो कडा अभिव्यक्ति बाहिरिएको हो। यसलाई गठबन्धनभित्रको बढ्दो मतभेदको स्पष्ट सङ्केतका रूपमा हेरिएको छ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले विशेषगरी फ्रान्स र बेलायत जस्ता सहयोगी राष्ट्रहरूलाई लक्षित गरेका छन् । इरानसँगको युद्धका क्रममा धेरै युरोपेली मुलुकहरूले अमेरिकी सेनालाई आफ्ना सैन्य आधार प्रयोग गर्न नदिएको विषयमा ट्रम्पले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
सोही कुरालाई लिएर गठबन्धनमा पारस्परिकता नभएको दाबी गर्दै ट्रम्पले लेखेका छन्, ‘उनीहरू हाम्रो पक्षमा उभिएका थिएनन् १’