७० वर्षयताकै ठूलो विपत्ति : गृह मन्त्रालय

काठमाण्डु टुडे २०७१ असोज २६ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, २६ असोज – गृह मन्त्रालयले गएको साउन ३२ गतेदेखि मुलुकका विभिन्न भूगोल तथा नदी तट क्षेत्रमा गएको बाढी र पहिरोका कारण करिब १९ अर्ब रुपैयाँ क्षति भएको जनाएको छ।

home ministry of nepalसिन्धुपाल्चोकको जुरे, सुर्खेत, बर्दियालगायतका स्थानमा बाढी पहिरो गएको थियो र यो ७० वर्षयताकै ठूलो विपत्ती मानिएको छ।

प्रकोप पूर्व तयारी सञ्जालले आइतबार राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा गृह मन्त्रालयका सहसचिव यादवप्रसाद कोइरालाले यो विपत्तीमा ५०० भन्दा बढीको मृत्यु भएको तथा दुई लाख व्यक्ति विस्थापित भएको जानकारी दिए।

उनका अनुसार प्रभावित स्थानमा उद्धार तथा सहयोगको काम भइरहेको र मन्त्रालयले रु ३० करोड त्यसतर्फ पठाइसकेको छ। बाढी पहिरोका कारण ११ प्रतिशत कुल गार्हस्थ उत्पादनमा असर पर्ने उनको अनुमान छ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष डा। गौरीशङ्करलाल दासले प्राकृतिक विपद्बाट हुने धनजनको क्षति न्यून गर्न प्रयास अगाडिदेखि नै हुनुपर्ने बताए।

प्रकोप पूर्व तयारी सञ्जालका अध्यक्ष डा विशालनाथ उप्रेतीले विपद् आइलागेपछि उद्धार तथा राहत वितरणका लागि सम्बन्धित पक्षसँग समन्वय र सहकार्य हुन नसक्दा पीडितमध्ये कसैले धेरै र कसैले केही पनि सामग्री प्राप्त गर्न नसक्ने अवस्था रहेको औँल्याए।

प्रत्येक वर्ष अक्टोवर १३ मा अन्तर्राष्ट्रिय विपद् व्यवस्थापन दिवस मनाइने गरिन्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us