काठमाण्डू, १६ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको र त्यस्तो भ्रममा नपर्न नेता–कार्यकर्तालाई अनुरोध गरेका छन ।
तर, अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त सङ्घर्ष जरुरी रहेको पनि ओलीले बताए । च्यासलस्थित पार्टी मुख्यालयमा आज (मंगलबार) एमालेको राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।
ओलीले भने, ‘सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकताका साथ संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता छ ।’ एमालेले कोहीसँग पनि समूहगत र संस्थागत एकता नगर्ने भन्दै ओलीले भने, ‘पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौं ।’
उनले पार्टी एकतामा पवित्रता चाहिने बताउँदै विगतमा त्यो नदेखिएको बताए । एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच देखिएको उनको भनाइ थियो । गत फागुन २१ गतेको निर्वाचनलाई २०८२ भदौ २३ र २४ गते गरिएका अपराधलाई वैधानिकता दिन मञ्चन गरिएको नाटक भन्दै उनले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कसले चलायो र दुई दिनका घटनामा सुरक्षा संयन्त्र किन निस्प्रभावी भए ?
भन्ने विषय उल्लेख नभएकाले ती अपराध घटनालाई ढाकछोप गर्न आयोग बनेको स्पष्ट भएको समेत उनले बताए । उनले पार्टीमा एकता, फेरि पनि एकता र अझ बलियो एकताको आवश्यकता रहेकोमा जोड दिँदै शत्रुहरुले आक्रमण गरिरहेको यसबेला पार्टीलाई विजयतर्फ अगाडि बढाउन के गर्नुपर्छ, त्यसदिशामा राय सुझाव दिन सुझाए ।