नतिजामुखी लेखा परीक्षणको विकास आजको आवश्यकताः सभामुख

काठमाण्डु टुडे २०८३ असार १५ गते १५:५२ मा प्रकाशित

काठमाण्डू, १५ असार– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षणको विकास आजको आवश्यकता भएको बताएका छन ।

आज (सोमबार) महालेखा परीक्षक कार्यालयको ६८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले यस्तो बताएका हुन । उनले सार्वजिक वित्त व्यवस्थापनको स्वरूप, सूचना प्रविधिको विकास, जोखिमका क्षेत्र तथा नागरिक अपेक्षामा आएको परिवर्तनसँगै लेखा परीक्षण प्रणाली पनि समयानुकूल परिमार्जित हुँदै जानु आवश्यक रहेको समेत बताए । उनले वर्षेनि करिब ६ हजार निकाय तथा कार्यालयहरूको लेखा परीक्षण निर्धारित समयमा हुने गरेको समेत बताएका छन ।

देशभरका हजारौँ सार्वजनिक निकायको सिमित स्रोत, साधनका बीच समयमै लेखा परीक्षण सम्पन्न गर्नु आफैँमा चुनौतीपूर्ण कार्य भएको उनको भनाइ छ । सभामुख अर्यालले बेरुजु कुनै पनि संस्थाका लागि गौरवको विषय नभएको समेत बताए । महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदन ०८१/८२ मा ८८ अर्ब ९ करोड बेरुजु देखिएको र हालसम्मको अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको देखिएको उनले बताए ।

वर्षेनि उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालको भनाइ छ । सभामुख अर्यालले भने, ‘वर्षेनि करिब ६ हजार निकाय तथा कार्यालयहरूको लेखा परीक्षण निर्धारित समयमा हुने गरेको छ । देशभरका हजारौँ सार्वजनिक निकायको सीमित स्रोत, साधनका बीच समयमै लेखा परीक्षण सम्पन्न गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो ।

यस जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने सम्पूर्ण कर्मचारीहरू प्रशंसाका पात्र हुनुहुन्छ ।’ उनले अगाडि भने, ‘यद्यपि सार्वजिक वित्त व्यवस्थापनको स्वरूप, सूचना प्रविधिको विकास, जोखिमका क्षेत्र तथा नागरिक अपेक्षामा आएको परिवर्तनसँगै लेखा परीक्षण प्रणाली पनि समयानुकूल परिमार्जित हुँदै जानु आवश्यक छ ।’

सभामुख अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा आधुनिक सूचना प्रविधि, डेटा विश्लेषण तथा कृत्रिम बुद्धिमताको उपयोग तीव्र रूपमा बढिरहेको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us