काठमाण्डू, १४ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बेला बेलामा विभिन्न कोणबाट विश्लेषण गर्दै विभिन्न चित्रहरू बन्ने गरेको भन्दै दुखेसो व्यक्त गरेका छन । प्रचण्डले आफूले क्रमभंगको कुरा गर्दा उत्पात नै गर्न थाल्यो भन्ने गरेको टिप्पणी गरे ।
आज (आइतबार) काठमाण्डूको राष्ट्रिय सभागृहमा आयोजित नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन । उनले एउटै क्रममा बस्ने नेता कहिँ पनि नपुग्ने समेत बताए । प्रचण्डले आफू एकताका लागि नहतारिएको पनि बताए ।
प्रचण्डले भने, ‘म विल्कुल हतारिएको छैन । हुन त मलाई मानिसहरूले विभिन्न कोणबाट हेर्दै विभिन्न चित्र बन्ने गरेको छ । मैले क्रमभंग भन्यो भने के उत्पात गर्न थाल्यो भन्छन् । यो त प्रकृति, समाज र मानव समाजको नियम हो, निरन्तरतामा क्रमभंग । मैले त्यही भन्ने गर्छु । गरिराख्नुपर्ने हुन्छ, क्रमभंग ।’ आफ्ना केही साथीहरू सधैं एकै ठाउँमा बस्ने गरेको र भिक्षु बनेर घण्टी बजाइरहेको टिप्पणी पनि उनले गरे । ‘क्रममै बस्नुभयो भने, जानुभयो ।
हाम्रा धेरै साथीहरू बसिरहेका छन् । बौद्ध भिक्षु रहेछौं घण्टी बजाइराख्छु भन्या छ, अहिले पनि नयाँ जनवाद नै भनेको छ, त्यो कुराले कहिँ लाँदैन,’ प्रचण्डले भने, ‘अहिले परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ ।
यसलाई तपाईं गतिशील ठान्नुहुन्छ, परिवर्तनको बुझ्ने नेता ठान्नुहुन्छ, धन्यवाद । अर्को ठान्नुहुन्छ, त्यो पनि धन्यवाद ।’ परिस्थिति अनुसार विचारलाई परिवर्तन गर्ने क्षमता कम्युनिस्टमा हुनुपर्ने प्रचण्डको भनाइ छ ।