खुमबहादुरको मोर्चालाई राप्रपा नेपालमा गाभ्ने कमल थापाको योजना

काठमाण्डु टुडे २०७१ असोज २६ गते ६:१६ मा प्रकाशित

काठमाण्डु, २६ असोज– राप्रपा नेपालले नेपाललाई पुन: हिन्दू राष्ट्र कायम गराउन भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
Kamalthapaआइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पहिलो चरणको अन्दोलन कार्यक्रम तय गरेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले काठमाण्डु टुडेलाई बताए ।

बैठकमा आगामी कात्तिक ४ गते हिन्दू राष्ट्रका पक्षमा काठमाण्डुको वसन्तुपुरमा सभा गर्ने र ७ गते लक्ष्मी पूजाका दिन देशैभर जिल्लास्थित पार्टी कार्यालयको अगुवाइमा सार्वजनिक रुपमा गाई र लक्ष्मी पूजा गर्ने निर्णय राप्रपा नेपालले गरेको छ ।

सोही दिनदेखि हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर अभियान चलाउने निर्णयसमेत बैठकले गरेको श्रेष्ठले बताए । उनका अनुसार बैठकले हिन्दू राष्ट्रका पक्षमा नेपाली काँग्रेसको एउटा समूहले थालेको अभियानको स्वागत गरेको छ ।

उनीहरुसँग समन्यव गरी अघि बढ्ने उद्देश्यले वार्ताका लागि सह–अध्यक्ष केशरबहादुर विष्टको अध्यक्षतामा नौ सदस्यीय वार्ता तथा समन्यवन समिति पनि गठन गरिएको छ ।

खुमबहादुर खड्काको नेतृत्वमा केही दिनअघि झण्डै तीन दर्जन काँग्रेस नेता र सभासदले हिन्दू राष्ट्रका पक्षमा अभियान सुरु भएको घोषणा गरेका थिए । राप्रपा नेपालले लामो समयदेखि आफ्नो पार्टीले हिन्दू राष्ट्रका पक्षमा नेतृत्वदायी भूमिका खेल्दै आएको भन्दै आफ्नो नेतृत्वमा अभियानमा सहभागी हुन काँग्रेस नेताहरुलाई आग्रहसमेत गरेको छ ।

‘काँग्रेसका केही नेताले हिन्दू राष्ट्रका पक्षमा थालेको अभियानको स्वागत गर्दै वार्ताका लागि नौ सदस्यीय वार्ता तथा समन्वय समिति गठन भएको छ’, श्रेष्ठले भने, ‘हामीले लामो समयदेखि हिन्दू राष्ट्रका पक्षमा नेतृत्व्दायी भूमिका खेल्दै आएकाले उहाँहरुलाई पनि हाम्रै नेतृत्वमा गोलबन्द भएर अघि बढ्न आग्रह गरेका छौं ।’
यस्तैसंविधानसभा भवन घेराउसहितको दोश्रो चरणको आन्दोलनको कार्यक्रम छिट्टै घोषणा गर्ने राप्रा नेपालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us