रोग लुकाउँछन् एचआइभी संक्रमित

काठमाण्डु टुडे २०७१ असोज २६ गते २:४३ मा प्रकाशित

इलाम, २५ असोज- एचआइभी संक्रमित स्वास्थ्य संस्थाको सम्पर्कमा नआउने गरेको पाइएको छ । जिल्लामा अहिलेसम्म आठजना संक्रमित मात्र जनस्वास्थ्य कार्यालय र HIV AIDSमातहतका स्वास्थ्य संस्थाको सम्पर्कमा आएका छन् ।

असुरक्षित यौनसम्पर्क, लागुऔषध दुव्र्यसन आदिको पोल खुल्ने डरले संक्रमितहरू सम्पर्कमा नआएको कार्यालयको भनाइ छ । ‘अझै पनि यस्ता क्लाइन्टहरू खुल्न चाहने वातावरण बनेको छैन,’ जनस्वास्थ्य प्रमुख राजकुमार पोख्रेलले भने, ‘यसका लागि पर्याप्त जनचेतना पुर्‍याउन सकिएको छैन ।’ कतिपय क्लाइन्टहरू जिल्लामा अरूले थाहा पाउने डरले तराईका अस्पताल जाने गरेका छन् ।

झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालबाट मात्र इलामका तीन दर्जन जतिले नियमित सेवा लिने गरेको पाइएको जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ । सरकारी निकायबाट सीधै आर्थिक सहयोग दिने व्यवस्था नभएका कारण पनि संक्रमित सम्पर्कमा रहन आवश्यक ठान्दैनन् । विभिन्न एनजिओ र आइएनजिओले आर्थिक सहयोगसमेत दिने गरेकाले उनीहरू सीधै तिनीहरूकै सम्पर्कमा पुग्ने गरेका छन् । ‘केही संघसंस्थाले जिल्लाबाटै सेवा दिने गरेको पनि पाएका छौँ,’ पोख्रेलले भने, ‘तर ती संस्थाले समेत हामीकहाँ कुनै रिपोर्ट पेस गर्दैनन् ।’

जिल्लाका दुई नगरपालिका र ४५ गाविसमा प्रभावकारी ढंगले एचआइभी एड्सबारे चेतनामूलक कार्यक्रम चलाउन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । स्वास्थ्य कार्यालयले हरेक गाविस र नगरपालिका पुगेर कार्यक्रम सञ्चालनका लागि योजनासमेत बनाएको छ । कार्यालयको योजनाअनुसार वार्षिक करिब २३ लाख रुपैयाँ आवश्यक पर्छ । तर, अहिले कार्यालयमा यो शीर्षकमा साढे चार लाख रुपैयाँमात्र बजेट आउने गरेको छ ।

‘यसभित्र कर्मचारीको तलब पनि पर्ने भएकाले यो रकमले उल्लेखनीय काम गर्न सकिएको छैन,’ जनस्वास्थ्य कार्यालयका रामनरेश ठाकुरले भने, ‘हाम्रो योजनाअनुसार काम भए जनचेतना विस्तार गरेर क्लाइन्टलाई सम्पर्कमा ल्याइने र संक्रमण नियन्त्रणमा पनि उल्लेख्य सफलता पाउन सकिन्छ ।’ अहिले कार्यालयले सम्पर्कमा आएकालाई पनि सामान्य रगत परीक्षण र परामर्शबाहेकको सेवा दिन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us