रास्वपा बन्दसत्र आजबाट सुरु हुँदै

काठमाण्डु टुडे २०८३ असार ९ गते ७:२४ मा प्रकाशित

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आजबाट सुरु हुँदै छ ।

आइतबार गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ ।

प्रतिनिधि परिचयपत्र वितरण कार्य बिहान ७ बजेदेखि सुरु गरिएपछि बन्दसत्रका कार्यक्रम अघि बढ्ने भएका हुन् ।

प्रतिनिधिहरूको नामावली अन्तिम रूप दिन ढिलाइ भएपछि सोमबारका लागि तय गरिएको बन्दसत्र सुरु हुन सकेको थिएन

सोमबार साँझदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिएको थियो भने राति छापिएका कार्डहरू आज बिहानदेखि प्रदेशमार्फत वितरण गर्न थालिएको छ ।

सातै प्रदेश तथा समायोजन र प्रवासतर्फका प्रतिनिधिका परिचयपत्र छुट्टाछुट्टै स्थानबाट वितरण गरिने व्यवस्था मिलाइएको छ ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुवात अनुशासन आयोगको प्रतिवेदनबाट हुनेछ ।

कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम  छ ।

त्यसैगरी पार्टी विधानमाथि छलफल गरी अनुमोदन गरिनेछ भने सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

राजनीतिक प्रतिवेदनमाथिको छलफल र अनुमोदनपछि अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्दै आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने सम्भावित कार्यसूची छ ।
निर्वाचन आयोगले त्यसपछि निर्वाचन प्रक्रियासम्बन्धी जानकारी तथा नयाँ कार्यतालिका सार्वजनिक गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us