काठमाण्डु, २५ असोज– एकीमाओवादी प्रवक्ता दीनानाथ शर्माले राष्ट्रपति रामवरण यादवलाई चुप लागेर बस्न चेतावनी दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार भेटघाटमा शर्माले जथाभावी नबोल्न राष्ट्रपतिलाई चुनौती दिएका हुन् ।
यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भएकाले आफूहरुले सम्मान गर्ने तर राजनीतिक दलहरुलाई अर्ती दिने काम राष्ट्रपतिबाट हुन नहुने उनको भनाइ थियो । शर्माले संविधान निर्माण संविधानसभा र दलहरुको क्षेत्राधिकारभित्र पर्ने भएकाले यति र उति प्रदेश बनाउने कुरा राष्ट्रपतिले भन्न नमिल्ने तर्क गरे ।
‘गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिलाई हामी सम्मान गर्छौं’, शर्माले भने, ‘तर, संवैधानिक राष्ट्रपतिले यति प्रदेश बनाऊ र उति प्रदेश बनाऊ भनेर दलरुहरुलाई उपदेश दिन मिल्दैन ।’ राष्ट्रपतिले केही दिनअघि धेरै प्रदेश मुलुकले धान्न नसक्ने भएकाले थोरै प्रदेश बनाउन सुझाव दिएका थिए ।
अर्को एक फरक प्रसंगमा शर्माले आफ्नो पार्टी सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट गरे । सरकार बनाउने र गिराउने खेलले संविधान नबन्ने भएकाले आफूहरुले त्यसबारे नसोचेको उनको भनाइ छ ।