बादलको प्रश्नः रविलाई भारतले गरेको भव्य स्वागतको राजनीतिक अर्थ के हो ?

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १७:१४ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– एमालेका उपाध्यक्ष रामबहादुर थापाले जनतालाई भ्रम दिएर विजय प्राप्त गरेको बताएका छन । आज (शुक्रबार) बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै रास्वपाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, विकास, समृद्धि, सुशासनको लोकप्रिय नारा दिएको समेत बताएका छन ।

उनले भने, ‘रास्वपा पार्टी भनेको एउटा पपुलिस्टपार्टी हो । उसले पपुलर नारा दियो। पपुलर नाराबाट, अल्गोरिदमको माध्यमबाट उसले जनतालाई भ्रमित बनायो । जनतालाई विघटित गर्‍यो । क्रान्तिकारीहरूलाई, गणतन्त्रका संवाहकहरूलाई, लोकतन्त्रका संवाहकहरूलाई खलनायकको रूपमा पूरै स्थापित गर्‍यो, हत्याराको रूपमा ।

जनताको केही नगरेकाहरूलाई नायक बनाइदियो ।’ उनले रास्वपाले एआई र अल्गोरिदमलाई राम्रोसँग प्रयोग गरेको समेत बताएका छन । उनले थपे, ‘अहिले अस्थायी रूपमा उनीहरू सफल भए, हाम्रा कमजोरीहरूलाई टेकेर उनीहरू सफल भए पनि यो सफलता अस्थायी हो ।

यो सफलतालाई अस्थायी बनाउनको निम्ति हामीले पार्टीलाई नयाँ नीतिको आधारमा पुनर्गठित गर्नुपर्छ।’ उनले रास्वपा सरकार स्वेच्छाचारिता, अधिनायकवाद लागू गर्दै गइरहेको बताएका छन । उनले भने, ‘जनताको संगठित हुने मौलिक अधिकारहरूलाई उसले खोज्दै छ। उसले सुकुम्वासीहरूलाई दमन गर्दैछ, हामीले त्यो देख्यौँ ।

लोकतान्त्रिक संस्थाहरूको चाहिँ धज्जी उडाउँदैछ, उसले गणतन्त्रको धज्जी उडाउँदैछ। यसको अर्थ गणतन्त्रलाई समाप्त पार्न चाहन्छ।’ उनले प्रधानमन्त्रीले सत्ता टिकाउनको लागि नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको आरोप समेत लगाएका छन । उनले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणबारे पनि प्रश्न समेत उठाए ।

उनले भने, ‘स्वागत गरेको देख्नुभयो होला एउटा प्रधानमन्त्री, राष्ट्रपतिलाई झैँ पार्टीको अध्यक्षलाई भव्य स्वागत गरिएको छ। यसको राजनीतिक अर्थ के होरु उनीहरू अहिलेको विद्यमान नेतृत्वसित सन्तुष्ट छैनन् । अरू कसैलाई नेतृत्व स्थापना गर्न मद्दत गर्न चाहन्छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us