सुस्तामा छिर्याे भारतीय सुरक्षाकर्मी, स्थानीयले गरे प्रतिकार

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १६:०५ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले प्रतिकार गरी फिर्ता पठाएका छन । अनुमति बिना भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेपछि स्थानीय र सुरक्षाकर्मीहरूबीच केहीबेर विवाद समेत भएको थियो ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको र गाउँलेले हल्ला गरेपछि फर्किएको भन्ने जानकारी पाएको जानकारी दिएका छन ।

सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम हुसेनका अनुसार शुक्रबार बिहान हतियार बोकेका ५ जना भारतीय सुरक्षाकर्मी नेपालको सशस्त्र प्रहरीको क्याम्पदेखि पूर्वतर्फ नेपाली भूमिमा प्रवेश गरेका थिए ।

नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई खेतमा काम गरिरहेका नेपालीहरूले प्रतिकार गरी भारततर्फ पठाएको उनले जानकारी दिए ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार गर्दै रोकेपछि केही समय विवाद भएको समेत उनले बताए । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बिहान गस्तीमा हिँडेको भारतीय सुरक्षाकर्मीको टोलीले नेपालको खेतको डिल प्रयोग गरेको र स्थानीयले सशस्त्र प्रहरीलाई खबर गरी नेपालको भूमि प्रयोग नगर्न भनेपछि भारततर्फ फर्किएको बताए ।

अहिले यहाँको अवस्था सामान्य रहेको जानकारी दिए । सुस्ता क्षेत्रलाई लिएर नेपाल र भारत पक्षबीच पटकपटक विवाद हुँदै आएको छ । यसअघि १९ जेठमा पनि विवाद चर्किएको थियो । त्यतिबेला तटबन्ध निर्माण कार्य हुँदै गर्दा भारतका सुरक्षाकर्मीहरू आएर ‘विवादित क्षेत्रमा काम नगर्न’ भनेका थिए ।

गत फागुनदेखि १ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण भइरहेकोमा त्यसैसँग जोडेर पूर्वतर्फ १३२ मिटर क्षेत्रमा तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भए पनि भारतीय सुरक्षाकर्मीको अवरोधका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us