‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता एकपछि अर्को गर्दै उदाङ्गो हुँदैछः शंकर पोखरेल

काठमाण्डु टुडे २०८३ जेठ २७ गते १५:१४ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– एमाले महासचिव शंकर पोखरेलले सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यशैलीप्रति आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाको नाम नलिईकन ‘जान्नेलाई छान्ने’ भन्दै उदाएका नयाँ राजनीतिक दल र तिनका नेताहरूको कडा टिप्पणी गरेका हुन ।

पोखरेलले नयाँ शक्तिहरूको कार्यशैली र प्रवृत्तिलाई ‘पाखण्ड’ र ‘भ्रष्टताको संस्थागत रूप’ को संज्ञा समेत दिएका छन । पोखरेलले सुशासन र तीव्र विकासका लागि पुराना दल र नेतृत्वका कमीकमजोरी हटाउन आवश्यक रहेको पनि स्वीकार गरेका छन् ।

तर, नयाँका नाममा ती पुराना कमीकमजोरीलाई नै बिर्साउने गरी भइरहेका ‘कुकार्य’ हरू कदापि उचित मान्न नसकिने पनि उनले बताएका छन । पोखरेलले ‘जान्नेलाई छान्नेको भ्रष्टीकरण’ शीर्षक राख्दै रास्वपा लगायतका नयाँ दलहरूको नाराको यथार्थ अहिले एकपछि अर्को गर्दै देखिन थालेको समेत बताएका छन ।

पोखरेलले नयाँ भनिएका शक्तिहरूमा देशविरुद्धका घातलाई सामान्य ठान्ने र राज्यविरुद्धको विध्वंसात्मक अपराधलाई बहादुरी मान्ने प्रवृत्ति देखिएको आरोप समेत लगाएका छन ।

पोखरेलले आफ्नो स्टाटसमा लेखेका छन्, ‘यदि यही कुरालाई नै ‘जान्नेलाई छान्ने’ भनेको हो भने यो योग्यता होइन, पाखण्ड हो। स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूप हो ।’

महासचिव पोखरेलको यो कडा टिप्पणी विशेषगरी अर्थ विधेयकमा भएको भनिएको फेरबदल र हालै नयाँ दलहरूसँग जोडिएर आएका विवादहरूको पृष्ठभूमिमा आएको बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us