घण्टीघरमा बाराका कार्यकर्ताको विरोध, बहुमतबाट निर्वाचित पदाधिकारीलाई मान्यता दिन माग

काठमाण्डु टुडे २०८३ जेठ २४ गते १५:२७ मा प्रकाशित

काठमाण्डू,२४ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन ।

उनीहरूले अधिवेशन सम्पन्न भइसकेपछि विजयी घोषणा गरिएको नेतृत्वलाई मान्यता नदिई पुनः निर्वाचन गराउनु विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप समेत लगाएका छन ।

कार्यकर्ताहरूका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत सहित विजयी भएका थिए ।

निर्वाचनपछि रनियाको शपथग्रहणसमेत सम्पन्न भएको अवस्थामा दुई दिनपछि सामाजिक सञ्जालको ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना दिइएको धिराज पटेलले जानकारी दिएका छन ।

उनले उक्त सूचना कुनै आधिकारिक पत्र, हस्ताक्षर वा पद उल्लेखबिनाको साधारण कागजमा सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन् । कार्यकर्ताहरूले ‘५० प्रतिशतभन्दा बढी मत नपुगेको’ भन्ने आधार देखाएर पुनः निर्वाचन गराइएको दाबी गरिएको भए पनि निर्वाचनकै दिन यस्तो विषय किन नउठाइएको भन्दै प्रश्न गरेका छन् ।

पार्टीका निर्वाचन प्रतिनिधि र नेतृत्वले विधानको सही व्याख्या नगरेको, विजयी घोषणा गरी माला र अबिर लगाइसकेपछि पुनः निर्वाचन गराउनु अनुचित भएको पटेलको दाबी छ ।

उनले उपनिर्वाचन सीमित प्रतिनिधिबीच गराइएको र अधिकांश वडा प्रतिनिधिलाई सहभागी हुन नदिइएको आरोपसमेत लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us