उत्तर कोरिया भ्रमण गर्दै सी जिनपिङः रुस नजिक पुगेका किमलाई रिझाउने प्रयास

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १६:२८ मा प्रकाशित

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले यसअघि उत्तर कोरिया भ्रमण गर्दा त्यहाँका शासक किम जोङ उन संकटमा रहेका थिए । अमेरिकी प्रतिबन्धका कारण किम निकै दबाबमा थिए ।

अमेरिकासँगको आणविक वार्ता असफल हुँदा उत्तर कोरियाले त्यस्तो दबाब झेल्नुपरेको थियो । अहिले त्यसको करिब सात वर्ष बितिसकेको छ । चिनियाँ राष्ट्रपति सी सोमबार फेरि उत्तर कोरिया जाँदैछन् । अहिले उनले पहिले कमजोर देखिएका किमलाई थप शक्तिशाली पाउनेछन् ।

अहिलेका किम रुससँगको नयाँ गठबन्धनका कारण बलियो भएका छन् । रुससँगको यो सम्बन्धले उत्तर कोरियाली अर्थतन्त्रलाई ठूलो मद्दत गरेको छ । रुससँगको सहयात्राले उत्तर कोरियाली अर्थतन्त्र एक्लोपनबाट बाहिर निस्किएको छ । यसपटक सी र किमबीच दुई दिने शिखर वार्ता हुँदैछ ।

सीले यस वार्तालाई पश्चिमा देशहरूविरुद्ध बलियो एकता देखाउने माध्यम बनाउन चाहेका छन् । उनी आफ्ना सहयोगीहरू एकजुट छन् भन्ने सन्देश दिन चाहन्छन् । तर, विश्लेषकहरूको भनाइ फरक छ । उत्तर कोरिया पछिल्लो समय रुसतर्फ बढी ढल्किएको छ ।

चीन आफ्नो यो छिमेकी देशमाथि आफ्नै प्रभाव कायम राख्न उत्सुक छ । त्यही कारण पनि सी यसपटक उत्तर कोरिया जान लागेको बुझिएको छ । अर्कातर्फ उत्तर कोरियाली राष्ट्रपति किम चिनियाँ कूटनीतिमा कम प्राथमिकतामा पर्न चाहँदैनन् । उनी चीनको जुनियर साझेदार मात्र बनेर बस्ने पक्षमा पनि छैनन् ।

उनले बेइजिङबाट थप आर्थिक सुविधा लिन चाहेका छन् । यसका लागि उनले रुससँगको आफ्नो पछिल्लो निकटतालाई बार्गेनिङको रूपमा प्रयोग गर्ने सम्भावना रहेको छ । उत्तर कोरियाका दुई वटा ठूला छिमेकी देश रुस र चीन छन् । किमले यी दुवै देशलाई सन्तुलनमा राख्न सक्छन् ।

यस्तो अवस्थामा किमले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ बढाउनेछन् । यसले उक्त क्षेत्रमा थप अस्थिरता निम्त्याउन सक्छ । त्यो क्षेत्रमा अमेरिकाका सहयोगी देशहरू छन् । उनीहरू चीनको बढ्दो सैन्य क्षमताका कारण पहिलेदेखि नै त्रसित छन् ।

अमेरिका अहिले इरानसँगको युद्धमा व्यस्त छ । यस युद्धका कारण अमेरिकाका संशाधन सकिँदै गएका छन् । त्यसैले वासिङ्टनले आफ्ना रक्षा सम्झौता पालना गर्न सक्ला कि नसक्ला भन्ने चिन्ता उनीहरूमा थपिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us