काठमाण्डु, २४ असोज – नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दोस्रो ठूलो दल एमाले काँग्रेसको पिछलग्गु बनेकाले सरकारको कार्यशैलीमा सुस्तता आएको अरोप लगाएका छन् ।
पार्टीको १२ औं जिल्ला अधिवेशनको शुक्रबार सदरमुकाममा उद्घाटन गर्दै उनले प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र नेपालगञ्ज – कर्णाली मोटरयात्राको गति एउटै भएको बताए ।
‘प्रमुख प्रतिपक्षमा बस्नुपर्ने पार्टी सत्तालिप्सामा लागेर काँग्रेससको पिछलग्गु बन्यो ’, बिजुक्छेले भने, ‘प्रतिपक्षी कमजोर भएकै कारण सरकार सुस्त र मनोमानी गतिमा हिँडेको हो ।’
उनले संविधान हतारमा जारी गर्न नहुने बताए । उनले भने, मितिमा नअल्झेर विवादित विषयमा सबैको सहमति जुटाउन उत्तम हुन्छ ।’
उनले संसारकै दोस्रो सस्तो परियोजना माथिल्लो कर्णालीलाई सरकारले कौडीको मूल्यमा बेचेको धारणा राखे । सम्मेलनमा पार्टी सचिव सुनिल प्रजापति, पूर्व सभासद जग्यबहादुर शाही लगायतले सम्बोधन गरेका थिए ।