काठमाडौं- भारतीय विश्लेषक तथा पूर्वकूटनीतिज्ञ एसडी मुनीले नेपाल–भारत सीमा समस्याबारे प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको धारणालाई साहसिक कदमको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै मुनीले सीमा समस्याको यथार्थलाई स्वीकार गर्ने प्रयास भएको भन्दै शाहलाई बधाई दिएका हुन् ।
उनले सुस्ता क्षेत्रको सन्दर्भ उल्लेख गर्दै नदीको बहाव परिवर्तनका कारण सीमासम्बन्धी जटिलता उत्पन्न भएको बताएका छन् ।
मुनीले सीमा विवादलाई केवल भावनात्मक दृष्टिकोणबाट नभई भौगोलिक, ऐतिहासिक र प्राविधिक आधारमा हेर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनका अनुसार प्रधानमन्त्री शाहको अभिव्यक्ति पनि यही यथार्थसँग सम्बन्धित छ ।
यद्यपि उनले नेपाल–भारत सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास दुवै देशका लागि प्रतिकूल हुन सक्ने चेतावनी दिएका छन् ।
सीमा समस्याको समाधान द्विपक्षीय संवाद र प्राविधिक संयन्त्रमार्फत खोजिनुपर्ने उनको धारणा छ ।
प्रधानमन्त्री शाहले संसद्मा लिपुलेकलगायत सीमा विषयमा बेलायतलाई समेत जोडेर छलफल गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि नेपाल र भारत दुवैतर्फ बहस सुरु भएको छ। यसैबीच मुनीको प्रतिक्रिया सार्वजनिक भएपछि उक्त विषयले थप चर्चा पाएको छ।