संविधानको समावेशी व्यवस्थाप्रति सरकार प्रतिबद्ध छः बालेन

काठमाण्डु टुडे २०८३ जेठ १६ गते १२:३३ मा प्रकाशित

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गरेको भन्दै त्यसमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आठौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले हिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकलगायतका कू–प्रथा तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।

महिला अधिकारको संरक्षण र प्रवद्र्धनका लागि राज्य, समुदाय तथा सरोकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकामा उनको जोड छ ।

आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तीकरणमार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

सन्देशमा संविधानले सुनिश्चित गरेका महिला अधिकारलाई व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्न सबै पक्षको प्रतिबद्धता र सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख छ ।

महिला अधिकारको विषय केवल कानुनी व्यवस्था वा नीतिगत घोषणामा सीमित नभई सामाजिक व्यवहार, अवसरको समान पहुँच र सम्मानजनक सहभागितासँग जोडिएको विषय भएको प्रधानमन्त्रीको स्पष्टोक्ति छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us