बजेटबारे बाबुरामको टिप्पणीः शब्द र प्रस्तुति आकर्षक,ढाँचामा निरन्तरता

काठमाण्डु टुडे २०८३ जेठ १६ गते १२:१० मा प्रकाशित

काठमाण्डू– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा नेतृत्वको करिब दुई तिहाइको सरकारले ल्याएको बजेट निरन्तरतामा आएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले गाउँको आँगनमा बसेर विद्वान अर्थमन्त्रीको बजेट भाषणा सुन्दा निकै रोमाञ्चक अनुभूति भए पनि समग्रमा निरन्तरतामा क्रमभंग नभएको बताएका छन् ।

बजेटका शब्द र प्रस्तुति निकै नयाँ र आकर्षक भए पनि गहिराइमा गएर हेर्दा समग्र संरचनात्मक ढाँचामा निरन्तरतामा क्रमभंगता उनको भनाइ छ । ‘शब्द र प्रस्तुति निकै नयाँ र आकर्षक छ ।

नीतिगत रूपमा नयाँ प्रविधिमैत्री पुस्ता, निजी क्षेत्र, विदेशमा बस्ने नेपाली, कर्मचारी आदिलाई बढी आकर्षित गर्ने खालको पनि छ’, भट्टराईले लेखेका छन्, ‘मलाई पनि निजी रूपमा बूढीगण्डकी परियोजना लामो अन्योल र आशंकापछि मैले सुरूमा प्रस्ताव गरेझैं अधिकारसम्पन्न प्राधिकरणमार्फत निर्माण गर्ने कुराले केही सन्तोष दिएको छ । परन्तु गहिराइमा गएर बजेटको समग्र संरचनात्मक ढाँचा (आय–व्ययको अनुपात, राजस्वको श्रोत, क्षेत्रगत विनियोजन, वित्तीय संघीयता आदि) हेर्दा निरन्तरतामा क्रमभंगता खासै दृष्टिगोचर हुन्न ।’

भट्टराईले यत्तिकैमा बजेट वक्तव्यमा भनिए जस्तो संरचनात्मक सुधारको नयाँ चरण पुरा हुनेमा आशंका व्यक्त गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गरेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us