काठमाण्डू, १५ जेठ– विपक्षी दलका सांसदले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) जननिर्वाचित सदनप्रति उत्तरदायी नभएको आरोप लगाउँदै आएका छन् ।
राष्ट्रपतिले संघीय संसदको संयुक्त सदनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बाचन गरिरहेका बेला बैठकबाट बाहिरिएर अमर्यादित व्यवहार देखाएको तथा नीति–कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन नआएको भन्दै विपक्षीले आलोचना गदै आएका छन् ।
यसअघि संसदमा प्रधानमन्त्री आउनुपर्ने माग विपक्षीले हरेक बैठकमा राखिरहेका छन् । शुक्रबार अर्थमन्त्री ड. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा धेरैको अपेक्षाविपरीत प्रधानमन्त्री शाह पुरै अवधि संसद् बैठकमा सहभागी भए ।
त्यति मात्र होइन, अर्थमन्त्रीले बजेट वक्तव्य पढेर सकाएपछि उनले सांसदहरुसँग हात मिलाए र तस्बिर पनि खिचाए । जसमध्ये राप्रपा प्रमुख सचेतक खुश्बु ओली पनि हुन् । ओलीले संसदमा पटकपटक प्रधानमन्त्रीको खोजी गरिरहेकी छन् । प्रधानमन्त्रीले संसदलाई हेपेको भन्नेमा उनी पनि सहमत छिन् ।
तर, प्रधानमन्त्री ओलीसँग सामान्य रुपमा प्रस्तुत भएर तस्बिर खिचाएका छन् । यस्तै उनले पूर्वशिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनसँग पनि खुलेर हाँसेका देखिन्छन् ।