बजेटसँग प्रधानमन्त्री र पार्टी सभापति निकै उत्साहित हुनुहुन्छः मनिष झा

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १९:०४ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले बजेटसँग प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने उत्साहित भएको बताएका छन ।

आज (शुक्रबार) बजेट भाषणपछि पत्रकारसँग कुराकानी गर्दै रास्वपा प्रवक्ता झाले यस्तो बताएका हुन एक जना सांसदका रूपमा बजेटसँग आफू पनि उत्साहित र खुसी रहेको टिप्पणी गरेका हुन । ‘एकजना जनप्रतिनिधि र एकजना प्रतिनिधिसभा सदस्यका रूपमा हामी एकदमै उत्साहित छौं,’ उनले भने, ‘हामी हर्षित पनि छौं ।’

बजेट भाषणपछि आफूले केहीबेर सभापति लामिछाने र प्रधानमन्त्री बालेनसँग कुराकानी गरेको उनले बताए । ‘बजेटपश्चात् पार्टी सभापति, प्रधानमन्त्रीलगायत केही नेतासँग कुरा गर्ने मौका पाएका थियौं, सम्माननीय प्रधानमन्त्री ज्यु पनि उत्साहित हुनुहुन्छ, पार्टी सभापति पनि उत्साहित हुनुहुन्छ,’ उनले भने ।

बजेटले मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई निकै प्राथमिकतामा राखेको उनले दाबी गरे । ‘मधेश, सुदूरपश्चिम र कर्णालीलाई यो बजेटले निकै नै प्राथमिकतामा राखेको, पुललाई, झोलुंगे पुललाई निकै नै प्राथमिकतामा राखेको, सडकलाई, त्यसरी नै उद्यमीहरूलाई, त्यसमा पनि सूचना प्रबिधिको क्षेत्रलाई, वैदेशिक लगानीलाई र नेपालीहरू विदेशमा रहेर विभिन्न क्षेत्रमा लागिरहनुभएको छ, उहाँहरूलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us