शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यकः राष्ट्रपति पौडेल

काठमाण्डु टुडे २०८३ जेठ १५ गते ११:३९ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका छन ।

आज (शुक्रबार) गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन । उनले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको समेत बताएका छन ।

राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गर्दै उनले राजनीतिक दल र नेतृत्वलाई अझ बढी सिर्जनशील, विनयशील र जनउत्तरदायी बन्न अनुरोध समेत गरेका छन ।

राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा नहुने समेत बताएका छन । राष्ट्रपति पौडेलले मुलुकमा बलियो जनादेशसहितको सरकार गठन भएको चर्चा गर्दै राष्ट्रपति पौडेलले वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई मूल मार्गदर्शनका रूपमा अगाडि बढाएको भन्दै खुशी व्यक्त समेत गरे ।

शासकीय सुधारका १०० कार्यसूचीको पूर्ण कार्यान्वयन तथा सीमाविहीन अर्थतन्त्र र तौलविहीन व्यापारका लागि गरिएका कानूनी एवं संरचनागत सुधारले जनतामा नयाँ आशा जागृत गर्ने उनले विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले भने, ‘आज नागरिकले सुशासन सहितको समृद्धि खोजेका छन् ।

यसका लागि हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ । अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जा लगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ । अनि मात्र आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ ।

यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो । यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us