काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसले नेपालीबीच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाओस् भन्ने कामना गरेका छन् ।
१९ औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणमा आआफ्नो क्षेत्रबाट योगदान गर्न राजनीतिक दल, नागरिक समाज तथा सबै सरोकारवालालाई आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राख्दै दिगो तथा समन्यायिक आर्थिक वृद्धि हासिल गर्नुपर्ने उल्लेख गरेका छन् ।
स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति र समृद्धिको कामनासमेत उनले व्यक्त गरेका छन् ।
सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्नु आजको आवश्यकता रहेको उल्लेख छ ।
सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकासका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विभिन्न आन्दोलनमा योगदान दिने राजनीतिक दल, नागरिक र कार्यकर्ताको भूमिकाको प्रशंसा गरेका छन् ।