कैदीबन्दी भगाएको प्रकरणमा मनिष झा र हरि ढकाल पनि तानिए

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १६:४१ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदनले नख्खु कारागारबाट कैदीबन्दीहरू भागेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने किटान गरेको छ ।

यस प्रकरणमा रास्वपाका नेताद्वय झा र ढकालको भूमिका र संलग्नताका विषयमा पनि अनुसन्धान गरेर कानुन बमोजिम कारबाही गर्न आयोगले सिफारिस गरेको हो ।

लामिछानेलाई कारागारबाट बाहिर निकाल्ने प्रक्रिया र त्यसपछिका घटनाक्रमहरूमा यी नेताहरूको उपस्थिति र भूमिकाले गर्दा अनुसन्धानको घेरामा उनीहरू पनि परेका हुन् ।

प्रतिवेदनको प्रकरण १५ मा कारागार प्रशासक (जेलर) सत्यराज जोशी र रास्वपा सभापति रवि लामिछानेको बयान एक–अर्कासँग पूर्ण रूपमा बाझिएको उल्लेख छ ।

अनुसन्धान समितिको सोधपुछका क्रममा जेलर सत्यराज जोशीले आफू लामिछानेका सहयोगी र समर्थकहरूको निरन्तरको डर, त्रास र धम्कीपूर्ण दबाबमा परेर लामिछानेलाई कारागारबाट छोड्ने पत्रमा हस्ताक्षर गर्न बाध्य भएको बयान दिएका छन् ।

तर, रवि लामिछानेले भने त्यसको ठीक विपरीत जेलरले नै आफूलाई ‘तपाईँ बाहिर गए जेल सुरक्षित हुन्छ’ भन्दै कारागारबाट बाहिर पठाएको दाबी गरेका छन् ।

जेलरले दबाबमा हस्ताक्षर गरेको भए पनि सो घटनाबारे तत्काल सम्बन्धित निकायमा कुनै जानकारी नगराउनुले उनको कार्यशैलीमाथि पनि गम्भीर शङ्का उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us