काठमाण्डू, १३ जेठ– आर्थिक वर्ष २०८२–८३ को वार्षिक सर्वेक्षणले देशभरि सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या बढेर ८ हजार ९ सय ७६ पुगेको देखिएको छ । स्वास्थ्य सेवामा पहुँच विस्तार भएसँगै मातृ तथा शिशु मृत्युदरमा उल्लेखनीय सुधार आएको सरकारी तथ्यांकले देखाएको छ ।
प्रति लाख जीवित जन्ममा हुने मातृ मृत्युदर घटेर १५१ मा झरेको छ भने प्रति हजार जीवित जन्ममा हुने शिशु मृत्युदर २७ कायम रहेको छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति हजारमा ३१ रहेको सर्वेक्षणमा छ । स्वास्थ्य बीमा कार्यक्रम देशभरका सबै स्थानीय तहमा विस्तार गरिएको उल्लेख छ ।
२०८२ फागुनसम्म यस कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या २१ लाख ४८ हजारभन्दा बढी पुगेको छ। सरकारले स्वास्थ्य बीमामार्फत सर्वसाधारणलाई उपचार सेवामा सहज पहुँच पुर्याउने लक्ष्य लिएको जनाएको छ।
औषधि उत्पादन क्षेत्रमा पनि नेपालले प्रगति गरेको देखिएको छ। हालसम्म नेपालमा २२ हजार ३ सय ५ ब्रान्डका औषधि दर्ता भएका छन् । तीमध्ये १३ हजार ५ सय ९४ स्वदेशी ब्रान्डका औषधि रहेका छन् ।