रविको भारत भ्रमणलाई लिएर रास्वपाभित्र हलचल

काठमाण्डु टुडे २०८३ जेठ १२ गते १७:३५ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– सत्ता घटक दल दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने विषयलाई लिएर पार्टीभित्र हलचल मच्चिएको छ ।

लामिछाने जेठ १८ गते नयाँदिल्ली प्रस्थान गर्ने सूचना बाहिरिएपछि रास्वपामा हलचल मच्चिएको हो । सभापति लामिछाने भारत भ्रमणमा जानेबारे पार्टीलाई नै जानकारी छैन । वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग पनि यसबारे छलफल नभएको स्रोतले जनाएको छ । ‘पार्टी सभापति भारत भ्रमणमा जानेबारे पार्टीलाई कुनै जानकारी छैन । वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेनसँग पनि छलफल भएको देखिँदैन ।

भ्रमणको विषयमा केन्द्रीय समितिले नै निर्णय गर्नुपर्छ’, स्रोतले भन्यो । लामिछाने भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा दुई दिने भ्रमणमा निस्किन लागेको सूचना बाहिरिएको थियो । भ्रमणका क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित उच्चस्तरीय भेटघाट गर्ने तय भएको बुझिएको थियो ।

भ्रमणमा रास्वपा सभापति लामिछानेसहित सह–महामन्त्री विपिन कुमार आचार्य र सचिवालय सदस्य तथा प्रवास विभाग प्रमुख दीपकराज बोहरा जाने चर्चा चलेको थियो । पछिल्लो समय भारत र नेपालबिचको सम्बन्धमा दरार उत्पन्न भएको बेला रास्वपा सभापति लामिछानेको भ्रमणलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको थियो । लिपुलेक हुँदै चीन र भारतले व्यापार खुला गर्ने सहमतिलाई लिएर नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको विषय मिडियामार्फत सार्वजनिक गरेको थियो ।

सीमा विवादका कारण भारतीय विदेशमन्त्री विक्रम मिस्रीको नेपाल भ्रमण स्थगित भएको बेला परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणसमेत स्थगित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us