काठमाण्डु, २३ असोज- संयुक्त राष्ट्रसंघले व्यवस्थापिका संसदको अवरोध हटाउन भूमिका खेलेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएको छ ।
राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्री फेल्टम्यानले बिहीबार अध्यक्ष प्रचण्डलाई टेलिफोन गरी राजनीतिक समस्याको गाँठो फुकेकामा धन्यवाद दिएका हुन् ।
प्रचण्डका स्वीय सचिव चुडामणि खड्काका अनुसार फेल्टम्यानले उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनेकामा प्रचण्डलाई बधाई समेत दिएका छन् ।
उनले शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा हुने र संविधान लेखनको कामले गति लिने विश्वाससमेत व्यक्त गरेका छन् । जवाफमा प्रचण्डले शान्ति प्रक्रियामा राष्ट्रसंघले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।