
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गर्दै आवश्यकता पर्दा सधैं साथ दिने बताएका छन ।
अमेरिकाको स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा आइतबार नयाँ दिल्लीस्थित भारत मण्डप कन्भेन्सन सेन्टरमा आयोजित एक कार्यक्रममा उनले फोनमार्फत सम्बोधन गरेका थिए । अमेरिकी राजदूत सर्जियो गोरले ट्रम्पलाई फोन गरेर स्पिकर अन गरेका थिए ।
त्यसक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन । ट्रम्पले भने, ‘म प्रधानमन्त्री मोदीको ठूलो प्रशंसक हुँ । भारत ममाथि शतप्रतिशत भरोसा गर्न सक्छ । यदि उनीहरूलाई कहिल्यै सहयोग आवश्यक पर्यो भने, कहाँ फोन गर्ने भन्ने उनीहरूलाई थाहा छ । उनीहरूले यहीँ फोन गर्छन् ।’ ट्रम्पले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई भने, ‘म भारत र प्रधानमन्त्रीलाई माया गर्छु । मोदी महान् व्यक्ति हुन् ।
उनी मेरा साथी हुन् । प्रधानमन्त्री मोदीलाई मेरो तर्फबाट नमस्ते भनिदिनुहोस् ।’ट्रम्पले विदेशमन्त्री मार्को रुबियोको पनि खुलेर प्रशंसा गरे । उनले भने, ‘मार्को उत्कृष्ट व्यक्तिमध्ये एक हुन् । उनी अमेरिकाको इतिहासका महान् विदेशमन्त्रीमध्ये एकका रूपमा सम्झिनेछन् ।’
अमेरिकी राजदूत भन्छन्– ट्रम्पले सधैं मोदीबारे सोध्छन् भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले राष्ट्रपति ट्रम्पले आफूसँग कुरा गर्दा सबैभन्दा पहिले प्रधानमन्त्री मोदीबारे सोध्ने गरेको समेत बताएका छन । उनले भारत–अमेरिका सम्बन्ध नयाँ नभई गहिरो विश्वासमा आधारित रहेको बताए ।
गोरले ‘अमेरिका फर्स्ट’को अर्थ अमेरिका मात्रै नभएको भन्दै दुवै देशले पारस्परिक फाइदाका अवसर खोजिरहेको समेत बताएका छन । उनका अनुसार भारतस्थित अमेरिकी दूतावासले यस वर्ष अमेरिकामा २०।५ अर्ब डलर लगानी भित्राउन सहयोग गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भारत–अमेरिका सम्बन्धको गति कम नभएको र दुवै देशबीच छिट्टै व्यापार सम्झौता हुने अपेक्षा रहेको बताए ।
भारत भ्रमणको दोस्रो दिन उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए । उनले आफ्नो भारत भ्रमण उत्कृष्ट रहेको समेत बताएका छन ।
रुबियोको भ्रमण भारत–अमेरिकाबीच आर्थिक र कूटनीतिक तनाव बढिरहेका बेला भएको हो । यसको प्रमुख कारण राष्ट्रपति ट्रम्पको शुल्क (ट्यारिफ) नीति हो, जसअन्तर्गत धेरै भारतीय उत्पादनमा कर बढाइएको छ ।