पार्टीलाई नयाँ ढंगले बढाउन कार्यदल गठन गर्नुपर्छ: शेरधन राई

काठमाण्डु टुडे २०८३ जेठ १० गते १८:५४ मा प्रकाशित

काठमाण्डू, १० जेठ– गुन्डुमा जारी एमालेको केन्द्रीय सचिवालय बैठकमा पार्टीको कार्यविभाजन प्रस्तावका सन्दर्भमा छलफल सुरु भएको छ ।

आइतबारको बैठकमा चार जना सचिवहरूले आफ्ना धारणा राख्ने क्रममा पार्टीको आगामी रणनीति र सांगठनिक संरचनाबारे महत्त्वपूर्ण सुझावहरू पेस गरेका छन् । बैठकमा धारणा राख्ने क्रममा सचिव शेरधन राईले पार्टीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आमूल परिवर्तन र पुनर्गठनमा जोड दिएका छन् ।

उनले पार्टीलाई नयाँ उचाइमा लैजानका लागि निर्मम समीक्षा र सांगठनिक सुधार अपरिहार्य रहेको बताए । सचिव राईले गत निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजयको विषयमा निर्मम समीक्षा हुनुपर्नेमा जोड दिए । बैठकमा सहभागी एक सदस्यले भने, ‘निर्वाचनमा पराजय हुनुका पछाडिका आन्तरिक र बाह्य कारणहरूलाई स्पष्ट रूपमा पहिचान गरी कमीकमजोरी सच्याउने प्रण गर्दै अघि बढ्नुपर्छ ।’

ती सदस्यले पछिल्लो समय पार्टी पंक्तिमा देखिएको निराशा, अन्योल र विचलनलाई चिर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउन सचिवालयमा विशेष प्रस्ताव पेस गरेका छन् । सोही क्रममा उनले पार्टीको आन्तरिक जीवनलाई पुनर्गठन गर्नका लागि सुझाव तथा प्रतिवेदन पेस गर्ने उद्देश्यले एउटा विशेष ‘कार्यदल’ गठन गर्नुपर्ने माग राखेका छन् ।

त्यसैगरी, वर्तमान राष्ट्रिय राजनीतिमा देखापरेका जटिल चुनौतीहरूलाई सामना गर्दै पार्टीलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ छ ।

आगामी दिनमा पार्टीका कार्यभारहरूलाई पूरा गर्न सक्ने गरी सांगठनिक संरचना तयार गर्नुपर्ने र त्यसका लागि कार्यविभाजनलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन । सचिवालय बैठकमा पदाधिकारीहरूबाट आएका यी सुझावहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पार्टी नेतृत्वले थप गृहकार्य गरिरहेको बुझिएको छ ।

एमालेभित्र निर्वाचन पछिको निराशालाई चिर्न र संगठनलाई चलायमान बनाउन अहिलेको छलफललाई निकै महत्त्वका साथ हेरिएको छ । आज राईसहित यमलाल कँडेल, खगराज अधिकारी र भानुभक्त ढकालले आफ्नो भनाइ राखेका थिए । बैठक आजै सक्ने तयारी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us