काठमाण्डु, २३ असोज- विपक्षीको लामो अवरोधपछि खुलेको व्यवस्थापिका संसदको बिहीबारको बैठकमा सत्तारुढ दलकै एक सभासदले सभासदहरु संविधान बनाउन छाडेर
ठेकेदारको खर्चमा विदेश घुम्न गएको भन्दै आपत्ति जनाएका छन् ।
बैठकको शून्य समयमा बोल्दै काँग्रेस सभासद् रामहरि खतिवडाले ठेकेदारको खर्चमा मलेसिया घुमेको भन्दै आक्रोश पोखे । ठेकेदारको खर्चमा विदेश घुम्ने सभासदका कारण आफूहरुको समेत नाक काटिएको उनको भनाइ थियो ।
उनले सभामुखले संविधान निर्माण नसकी विदेश नजान गरको आग्रह लत्याउदै निर्माण व्यवसायीको खर्चमा अर्थ समितिका सभासदहरु विदेश भ्रमणमा गएको बताए । ‘निर्माण व्यवसायीको खर्चमा सिंगापुर र मलेसिया घुम्ने केही सभासदका कारण हामी सबै सभासदको नाक काटिएको छ’ उनले भने ।
कांग्रेसकै अर्का सभासद ललितजंग शाहीले सून्य समयमा सभासदले बोलेका कुरालाई मन्त्रीहरुले एक कानले सुनेर अर्को कानले उडाउने गरेको बताए । सून्य समयमा बोलेका कुरालाई सरकारले सून्यमै उडाएको भन्दै उनले सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे ।