काठमाण्डु, २३ असोज- सत्तारुढ काँग्रेसभित्रको एउटा समूहले नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन हतियार उठाउने चेतावनी दिएको छ ।
सनातन हिन्दू राष्ट्र नेपाल नागरिक संघर्ष समिति’को नाममा उनीहरुले त्यस्तो अभियान थालेका हुन् । अभियानको नेतृत्व भ्रष्टाचारी ठहर भई जेल सजाय भोगेर बाहिर आएका नेता खुमबहादुर खड्काले गरेका छन् ।
काठमाण्डुको बानेश्वरमा आयोजित कार्यक्रमका बीच खड्काले अभियानको घोषणा गरे । भेलामा खड्कासहित अर्का भ्रष्टाचारी ठहर भएका नेता चिरञ्जिवी वाग्ले, पूर्वसभामुखसमेत रहेका तारानाथ रानाभाट, दीपकुमार उपाध्याय, लक्ष्मणप्रसाद घिमिरे, पूर्णकुमार शेर्मा लिम्बु, मार्शलजुलम शाक्य र दूर्योधन सिंह चौधरी लगायत एक दर्जन केन्द्रीय सदस्य र करिब ३० भन्दा बढी सभासद सहभागी थिए । उनीहरु अधिकांश विगतमा राजतन्त्र अन्त्य र गणतन्त्र घोषणको विपक्षमा थिए ।
कार्यक्रममा खड्काले धर्मनिरपेक्ष राज्यको निर्णय सच्याएर हिन्दू राष्ट्र बनाउने अभियानमा दमन भए प्रतिरोधमा हतियार उठाउने चेतावनी दिए । खड्काले पश्चिमा शक्ति र शक्तिले नेपाललाई बिखण्डन गर्न र क्रिश्चियन धर्म प्रचारका लागि अरबौं रुपैयाँ लगानी गरेर नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष घोषणा गराएको आरोप लगाए । उनले नेपाललाई हिन्दू राष्ट्र बनाउने उद्धेश्यका साथ निकट भविष्यमै आन्दोलन सुरु गर्ने उदघोषसहित त्यसका लागि तयार रहन काँग्रेस कार्यकर्तालाई निर्देशन दिए । उनले आन्दोलनमा बल प्रयोग भए पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको कुर्ची हल्लाइदिने चेतावनी दिए ।
पूर्वसभामुख तारानाथ रानाभाटले नेपालमा ९० प्रतिशत जनता हिन्दु र बौद्ध सहित ओमकार परिवारका सदस्य रहेकाले सनातन हिन्दु राज्य कायम गराउन आन्दोलन हुने बताए ।
भेला आयोजक समिति संयोजक हरिबोल भट्टराईले अहिले केही नेताको अगुवाइमा अभियान शुरु भए पनि यसमा कांग्रेसको सिंगो पार्टी पंक्ति सामेल हुने बताए ।