जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन, सुरक्षा कडा

काठमाण्डु टुडे २०८३ जेठ ९ गते १८:२१ मा प्रकाशित

नेपालगञ्ज – नेपाल–भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।

पछिल्लो समय लागुऔषध ओसारपसारलगायत अवैध गतिविधि बढ्दै गएपछि सीमा सुरक्षालाई थप कडा बनाउन कुकुर परिचालन गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीका अनुसार नाकामा दुई वटा तालिम प्राप्त कुकुर खटाइएका छन् ।

ती कुकुरहरूले सीमा प्रवेश गर्ने यात्रु तथा सामानको जाँचमा सहयोग गरिरहेका छन् ।

कुकुरहरूलाई विशेषगरी हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषध पहिचानका लागि प्रयोग गरिएको सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले नियमित रूपमा यस्ता कुकुर परिचालन गरिनेछ ।

कुकुर परिचालनसँगै अवैध ओसारपसार तथा शङ्कास्पद गतिविधि नियन्त्रणमा थप प्रभावकारी हुने विश्वास लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भन्सार नियम कडाइका साथ कार्यान्वयन भएसँगै नाकाको सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us