काठमाडौं- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले लोकतन्त्रका लागि बलिदान गर्ने नेता–कार्यकर्तालाई तर्साउने प्रवृत्ति बन्द गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले शनिबार फेसबुकमार्फत पार्टीभित्र त्रास र दबाबको वातावरण सिर्जना गरिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका हुन् ।
‘पार्टीमा समावेश हुने आधार आस्था र विश्वास हो । समर्पण जङ्गी अड्डाको हुकुम र त्रासबाट पैदा हुँदैन,’ उनले लेखेका छन्, ‘सैद्धान्तिक असहमतिका समाधान संवादबाट खोजिनुपर्छ ।’
कार्कीले जिम्मेवार निकायको दम्भ र अपरिपक्व व्यवहारका कारण पार्टीको पद्धति कमजोर बन्दै गएको टिप्पणी गरेका छन् ।
‘जिम्मेवार निकायले अल्लारेपन र दम्भ प्रदर्शन गर्दा पार्टीको पद्धति नै कमजोर बन्दै गएको छ । पदलोलुपता समस्या हो,’ उनले भनेका छन्, ‘पदभन्दा माथि उठेर लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने प्रवृत्ति बन्द गर ।’
उनले पार्टीभित्र एकता, सहमति र सम्मानको वातावरण निर्माण गर्ने जिम्मेवारी नेतृत्वकै भएको बताएका छन् ।
वडा, पालिका, क्षेत्र र जिल्लास्तरसम्मका सभापति तथा नेता–कार्यकर्तालाई प्रश्न उठाएकै वा सैद्धान्तिक असहमति जनाएकै आधारमा बर्खास्त गर्ने र धम्की दिने काम निरंकुश शैली भएको उनको आरोप छ ।
लोकतन्त्रमा असहमतिलाई संवादमार्फत समाधान गर्नुपर्ने उल्लेख गर्दै कार्कीले ‘साइलेन्ट निलम्बन’ जस्ता गतिविधि लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन् ।
अनुशासन सबैले पालना गर्नुपर्ने भन्दै उनले नेताहरूलाई गाली गर्ने प्रवृत्ति पनि अन्त्य हुनुपर्ने उल्लेख गरेका छन् । ‘कांग्रेसीहरू दास र लास हुन सक्दैनन्,’ उनले लेखेका छन् ।