काठमाण्डू, ८ जेठ– कांग्रेसका सभापति गगन थापाले १५ जेठसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताएका छन । आज (शुक्रबार) सुनसरीको लौकहीमा आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन ।
सभापति थापाले असन्तुष्ट नेताहरूसँग परामर्शमा रहेकाले रिक्त रहेका भ्रातृ संगठनहरुको नेतृत्व चयनमा ढिलाइ भएको समेत जानकारी गराए । सभापति थापाले भने, ‘भ्रातृ संगठनहरूको जेठ १५ सम्म टुंगो लाग्छ, ‘असन्तुष्टी राखिराखेका नेताहरूसँग परामर्शमा रहेकाले समय लागेको हो ।’
२२ वैशाखमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद थप्ने निर्णय नगरेपछि १३ मध्ये पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतस् विघटन भएका थिए । केन्द्रीय कार्यसमितिहरू स्वतस् विघटन हुने भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् ।
जसमध्ये नेपाल महिला संघले मात्रै नयाँ नेतृत्व पाएको छ । सभापति थापाले २५ वैशाखमा चितवनकी मीनाकुमारी खरेललाई अध्यक्ष मनोनीत गरेका थिए ।