काठमाण्डू, ८ जेठ– परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज (शुक्रबार) नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी गराए ।
नयाँ दिल्लीस्थित नेपाली दुतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको उनले जानकारी दिए ।
यसैगरी, नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौँमा आयोजना हुने तय भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदुतले सह–अध्यक्षता गर्नेछन् । यसै अवधिमा नेपालले नर्वे र स्विट्जरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्दैछ ।
कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ६ सय ८७ जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा थपिएका ७१ जना रहेका छन् ।
प्रवक्ता क्षेत्रीकाअनुसार कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीको कानुनी सहायताका लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाहाका लागि कूटनीतिक प्रयास जारी छ ।
यसैबीच, विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले ‘मोफा मित्र’ एप आगामी जेठ २२ गते सार्वजनिक गर्ने तयारी गरेको छ ।