काठमाण्डू, ८ जेठ– आज (शुक्रबार) ओली निवास गुन्डुमा बस्ने एमालेको सचिवालय बैठकमा एमालेकाका केही पदाधिकारीले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने तयारी गरेका छन् ।
पार्टी पुनर्गठनको पक्षमा उभिएको समूहले अब नेतृत्व परिवर्तनको बहसलाई औपचारिक रूपमा अघि बढाउने तयारी गरेको एक पदाधिकारीले जानकारी दिएका छन ।
ती पदाधिकारीका अनुसार अध्यक्ष ओलीले असन्तुष्ट नेतामाथि कारबाही गर्ने संकेत दिएपछि कसरी प्रतिवाद गर्ने भन्ने विषयमा आन्तरिक छलफल भएको हो । उनीहरूले जेन–जी आन्दोलनपछि पार्टी किन रक्षात्मक अवस्थामा पुग्यो र चुनावमा एमालेले किन लज्जास्पद पराजय भोग्नुपर्यो भन्नेबारे नेतृत्वसँग स्पष्ट जवाफ माग्ने तयारी गरेका छन् ।
ती नेताका अनुसार पार्टी पुनर्गठनको पक्षमा जानुको अब विकल्प नरहेको निष्कर्ष निकालिएको छ । केही शीर्ष पदाधिकारी नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा खुलेपछि यसअघि पुनर्गठनको आवाज उठाउँदै आएका समूहलाई थप बल पुगेको बताइएको छ ।
ओली नेतृत्वमा भएका कतिपय निर्णयकै कारण एमालेले ठूलो राजनीतिक क्षति ब्यहोर्नुपरेको र जनतामाझ कमजोर बन्नुपरेको निष्कर्ष असन्तुष्ट नेताहरूको छ ।
‘अब पनि ओलीकै नेतृत्वमा पार्टी चलिरहने हो भने त्यसको कुनै अर्थ रहँदैन,’ एक नेताले भने, ‘हामीले सम्मानपूर्वक उहाँलाई पार्टी नेतृत्वबाट बिदाइका लागि आग्रह गर्ने हो । त्यसका कारण कारबाही हुन्छ भने पनि अब कदम चाल्नैपर्छ ।’