सभामुखलाई प्रधानमन्त्रीको जवाफः उपयुक्त समयमा संसद् आउँला

काठमाण्डु टुडे २०८३ जेठ ७ गते १८:११ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसद्हरूको जवाफ दिने भन्दै सभामुख डीपी अर्याललाई फर्काएका छन ।

सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा गराएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् । प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री बालेनको उपस्थिति खोजिरहेका छन् ।

प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले संसद् अवरोध नै गर्न थालेपछि बिहीबार सभामुख अर्याल प्रधानमन्त्री बालेन भेट्न पुगेका थिए । सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री बालेनले ‘उपयुक्त समयमा संसद् आउँला र सांसदहरूको जवाफ दिउँला’ भनेको सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरूलाई बताएका हुन् ।

प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभामा विपक्षी दलहरूले नारावाजी गर्न थालेका छन् । सभामुख अर्यालले विपक्षी दलका सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाका कामकारबाही अगाडि बढाए ।

विपक्षीको नाराबाजीकै बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ पारित भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

यस विधेयकउपर प्राप्त संशोधनहरूलाई सभामुखले निर्णायार्थ प्रस्तुत गरे । त्यसपछि नाराबाजीकै बीच सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us