प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयोः एमाले

काठमाण्डु टुडे २०८३ जेठ ७ गते १४:५० मा प्रकाशित

काठमाण्डू, ७ जेठ– प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने र जनताको मतको उपेक्षा गर्ने काम गरेको आरोप लगाएको छ ।

आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विधेयक पेश गर्न समेत नआएको भन्दै विपक्षीहरूले विरोध गरेका छन् । सो बीचमा एमाले सांसद ऐनबहादुर महरले संविधानको धारा ७६ को १० बमोजिम प्रधानमन्त्री गम्भीर नबनेको आरोप लगाएका हुन ।

उनले भने, ‘कुरा नियमावलीको होइन, विषय नियतको हो । प्रधानमन्त्रीज्यूको नियत सदनलाई छल्ने, अपमान गर्ने, जनताको मतको उपेक्षा गर्ने छ, ‘संविधानको धारा ७६ को १० बमोजिम सदनप्रति सरकार उत्तरदायी बन्नुपर्ने र जनताको आवाजहरू सुनुवाइ गर्नुपर्छ भनेर भनेका थियौं ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावलीको नियम ७९ को नियम ५६ को व्यवस्थालाई अनदेखा गरेको उनले आरोप समेत लगाए । ‘यसले प्रधानमन्त्रीलाई थप स्वेच्छाकारी, निरंकुश बाटोमा हिंड्न उत्प्रेरित गरेको छ,’ महरले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us