सभामुखको भूमिकामाथि कांग्रेसले उठायो प्रश्न

काठमाण्डु टुडे २०८३ जेठ ७ गते १४:०५ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– आज (बिहिाबर) बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएको छ । संसद्मा प्रधानमन्त्रीको खोजी निरन्तर भइरहादा सभामुखले उपस्थितिका लागि रुलिङ नगरेको भन्दै कांग्रेसले सभामुख अर्यालको भुमिकामाथि प्रश्न उठाएको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठबमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको बताए । नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको खोजी गर्ने लगायत विषयमा प्रमुख प्रतिपक्ष दलको हैसियतमा आफू स्वयम् र अन्य विपक्षी दलका सांसदहरूले पटक पटक सरकारलाई सदन प्रति उत्तरदायि बनाउन खोजेको स्मरण समेत गरे ।

उनले भने, ‘यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन ।’पछिल्लो केही बैठकदेखि श्रम संस्कृति पार्टीले सरकार खोज्दै, जवाफदेहीता र सदन प्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको स्मरण गर्दै उनले भने, ‘सभामुख महोदयले यसलाई अमर्यादित भन्नु भएको छ ।’ यहाँनेर उनले प्रतिनिधिसभाको अघिल्लो कार्यकालको दृश्य सम्झिए ।

‘सभामुख महोदय, यहाँ बिर्सन नहुने एउटा प्रंसग उल्लेख गरौं । आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जवाफदेहीता खोज्दै निलो स्कार्फ घाँटीमा बाधेर वेल घेरेको थियो,’ राइले भने । त्यसबेला रास्वपाले वेलमा पुगेर पलँेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि गरेको थियो । ‘त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो ।

मेरो प्रश्न आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित ?’ राईको प्रश्न छ । आफूहरूको बुझाइमा रास्वपाको त्यसबेलाको कार्य गलत थियो र अहिले पनि गलत र अर्मायदित भइरहेको छ भन्ने निष्कर्ष रहेको उनले बताए । यहाँनेर फेरि उनले सभामुखको भूमिका स्मरण गरे ।

सदनको मर्यादा सभामुख महोदयले राख्नुपर्ने हो । तर सँगैमा, अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रविन्दुमा सरकार छ,’ राईले भने, ‘सरकारलेनै मर्यादा कायम गर्नुपर्ने हो । तर, सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने ! सदन भनेसी एलर्जी नै हुने ?’ सरकारको कार्यमा सत्तारुढ दल रमाउँदै हिंडेको उनको टिप्पणी छ ।

उनी भन्छन्, ‘सरकार परम्परा भत्काउँदै छु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ । अहिले क्रमभंगता शब्दमा सरकार रमाएको छ । अनि, त्यसमा सत्तारूढ दलका साथीहरू रफू लगाउँदै हिंड्नुभएको छ ।’

कांग्रेस सचेतक राईको प्रश्न छ, ‘आज सदनमा जे भइरहेको छ, तपाईं सत्ताले छाती चौडा बनाएर दाबी र गर्व गर्दै हामीले क्रंमभंगता गरेका छौं भन्दै हिँड्दाको नतिजा हो । जुन् दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अंकको दम्भले लल्कारिछ अनि सदन कसरी मर्यादित हुन्छ ?’ यस्तोमा सभामुख जिम्मेवार हुनुपर्ने उनको आग्रह समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us