यो सरकारलाई सिटको दम्भ छः एमाले सांसद राई

काठमाण्डु टुडे २०८३ जेठ ६ गते १६:२९ मा प्रकाशित

काठमाण्डू, ६ जेठ– एमालेका सांसद राजेन्द्र राईले सरकार विधि र लोकतान्त्रिक मूल्य विपरीत चलेको आरोप लगाएका छन । आज (बुधबार) संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले यस्तो बताएका हुन ।

सरकार बहुमतको दम्भ देखाएर शासन सञ्चालन गरिरहेको आरोप समेत लगाएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी समाज र जनताको सेवाबाट नभई गैरराजनीतिक ढंगले आएको टिप्पणी पनि उनको थियो ।

एमाले सांसद राईले भने, ‘सरकार विधिमा चलेन । सरकारलाई के दम्भ छ भने मसँग धेरै सिट छ यही सिटको दम्भमा पेलेर जान्छु भन्ने छ । त्यो पार्टीबाट हिजो समाजको निम्ति काम गरेको मान्छे कोही पनि आएको छैन ।

अहिले सरकार समाजसेवा र राजनीति ढंगले आएको सरकार होइन ।’ सांसद राईले सरकारलाई लोकतन्त्र र विधिको शासनप्रति विश्वास नभएको आरोप लगाउँदै लोकतान्त्रिक प्रणाली कमजोर पार्ने प्रयास भइरहेको पनि बताएका छन ।

साथै, उनले गणतन्त्र र लोकतन्त्रको नाममा भाषण मात्र भइरहेको तर मुलुक निर्माणका लागि ठोस आधार प्रस्तुत गर्न नसकिएको टिप्पणी समेत गरे । उनले भने, ‘यो सरकारलाई लोकतन्त्रमा विश्वास पनि छैन ।

विधिको शासन उल्ट्याउन चाहान्छ । र हामीले ल्याएको लोकतन्त्र र गणतन्त्रमा झण्डा फैल्याएर भाषण गरेर हिँडेका छन् । तर मुलुक बनाउने आधार खै त ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us