काठमाण्डु, २३ असोज- नेपाल प्रेस युनियनले डोटी बस दुर्घटनामा पत्रकार कर्ण शाहीको निधन भएकामा दुःख व्यक्त गरेको छ ।
युनियनका महासचिव अजयबाबु सिवाकोटीले जारी गरेको शोक विज्ञप्तिमा शाहीको निधनको खबरले स्तब्ध भएको उल्लेख छ । विज्ञप्तिमा शाहीको मृत्युको खबरले युनियनलाई मर्माहत बनाएको भन्दै स्वर्गीय शाहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामना गर्नुका साथै परिवार तथा सोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।
कैलालीबाट प्रकाशित लेखाजोखा साप्ताहिकका सम्पादक÷प्रकाशक एवम् आर्थिक अभियान दैनिकका समाचारदाता शाहीको गत २० असोजमा डोटीको छत्तिवनमा भएको बस दुर्घटनामा मृत्यु भएको थियो । उक्त दुर्घटनामा शाहीसँगै २९ जनाले ज्यान गुमाएका थिए ।
यसैबीच युनियनले सूचना विभागका निर्देशक श्याम चालिसेको ह्दयघातका कारण निधन भएकोप्रति पनि दुःख व्यक्त गरेको छ ।