हुम्लामा लेदोसहितको भेलबाढी : विद्यालय बग्यो, घरगोठ पुरिए

काठमाण्डु टुडे २०८३ जेठ ६ गते ७:३३ मा प्रकाशित

काठमाडौँ – चंखेली गाउँपालिका–५ मा मंगलबार राति परेको भीषण असिनापानीपछि आएको लेदोसहितको भेलबाढीले विद्यालय तथा घरगोठमा क्षति पुर्‍याएको छ ।
स्थानीयका अनुसार गाउँमाथिको भिरालो क्षेत्रबाट आएको भेलले डाँफे आधारभूत विद्यालय बगाएको हो ।

बाढीका कारण केही घरगोठ पुरिनुका साथै भेडाबाख्रा पनि पुरिएको प्रारम्भिक जानकारी आएको छ ।
वडाध्यक्ष हर्कधन तामाङले राति ठूलो असिनापानी परेपछि अचानक भेलबाढी आएको जानकारी दिएका छन् ।

उनका अनुसार हालसम्म मानवीय क्षतिको खबर प्राप्त भएको छैन ।
गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले घटनापछि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

दुर्गम भूगोल र कठिन बाटोका कारण घटनास्थल पुग्न समय लाग्ने उनले जानकारी दिए ।
स्थानीय तहले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिमपूर्ण स्थानमा नजान आग्रह गरेको छ ।

अहिले वर्षा रोकिए पनि थप पहिरो र बाढीको जोखिम कायम रहेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us