सपना प्रधान मल्लद्वारा प्रधानन्यायाधीश मनोजकुमार शर्माको स्वागत बहिष्कार

काठमाण्डु टुडे २०८३ जेठ ५ गते २२:०३ मा प्रकाशित

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले मंगलबार साँझ सर्वोच्च अदालतमा पदभार ग्रहण गर्दा निवर्तमान कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल भने स्वागत कार्यक्रममा अनुपस्थित रहिन् ।
रोलक्रममा आफू अगाडि हुँदाहुँदै संवैधानिक परिषद्ले चौथो वरियताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको विषयमा असन्तुष्ट रहँदै आएकी मल्लले स्वागत कार्यक्रम नै बहिष्कार गरेकी हुन् ।
राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेपछि प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेका थिए ।

उनको स्वागतका लागि सर्वोच्च अदालत, उपत्यकास्थित उच्च अदालत, विशेष अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरू उपस्थित थिए । सर्वोच्च अदालत प्रशासनले यसबारे सबै अदालतलाई पूर्वजानकारीसमेत गराएको थियो ।
तर, स्वागत कार्यक्रममा सपना प्रधान मल्ल भने देखिइनन् । स्रोतका अनुसार शर्मा सर्वोच्च अदालत पुग्नुअघि नै मल्ल अदालतबाट बाहिरिएकी थिइन् ।
प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु भएदेखि नै मल्लले असन्तुष्टि जनाउँदै आएकी थिइन् । आफू रोलक्रममा अगाडि रहे पनि संवैधानिक परिषद्ले कनिष्ठ न्यायाधीशलाई अघि बढाएर आफूलाई पाखा लगाएको उनको बुझाइ  ।

सिफारिस सार्वजनिक भएपछि उनले अप्रत्यक्ष रूपमा सार्वजनिक असन्तुष्टिसमेत व्यक्त गरेकी थिइन् ।
यद्यपि, मल्ल निकट मानिएका केही न्यायाधीशहरू भने स्वागत कार्यक्रममा सहभागी भएका थिए । शर्माभन्दा अघिल्लो वरियतामा रहेका कुमार रेग्मी र हरिप्रसाद फुयाल स्वागतमा उपस्थित थिए । उनीहरू शर्मासँगै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us