काठमाण्डू, १ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा मागेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्र्दै उनले बालेनले प्रधानमन्त्रीबाट राजीनामा दिए लोकतन्त्र र नागरिक सम्मानित हुने बताए । संसदमा नआउने, सम्बोधन नगर्ने र संसदको मर्यादा कायम नगर्ने प्रधानमन्त्री शाह असक्षम र असफल आरोप उनले लगाए ।
‘आजका मितिसम्म संसदमा कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नुले प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई अपमान गरेको, संसदमार्फत् सारा नेपाली जनताको लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको प्रमाणित हुन्छ’ उनले भनेमा छन्, ‘संसदमा मर्यादा र थिति बसाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिन्छ१ यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको छ ।’
साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढ्दापढ्दै गरेको अवस्थामा बाहिरिएको र सभामा नफर्किएका कारण राजीनामाको पहिलो कारण भएको बताए ।
नीति तथा कार्यक्रम छलफलको लागि संसदमा पेस गर्न अनुपस्थित भएको, प्रतिपक्षहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दा समेत उपस्थित नभएको, संसदमा उपस्थित नभई नजीकै रहेको आफ्नै कार्यालयबाट संसदका सम्पूर्ण गतिविधि लाइभ हेरेको तर उपस्थित नभएको विषय राजीनामा दिनुपर्ने दोश्रो कारण भएको उल्लेख गरे ।
तेश्रो कारणमा नीति तथा कार्यक्रममा छलफल हुँदाका बखत अनुपस्थित रहेको र नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको उत्तर दिन प्रधानमन्त्री उपस्थित रहनुपर्ने संसदीय परम्पराको बेवास्ता गरेर बिना कुनै कारण अनुपस्थित रहेको तर्क उनले गरे ।
यस्तै चौथो कारणमा आजका मितिसम्म संसदमा कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नु छ ।
आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने के प्रवृत्ति हो ? भन्ने उनले प्रश्न गरेका छन् ।
यसले कस्तो नजीर बसाउँछ भन्दै प्रश्न गर्दै कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्युनतम कर्तब्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्दा लोकतन्त्र सम्मानित हुने र जनता सम्मानित हुने हर्कको दाबी छ ।