पूर्वगृहमन्त्री सुदन गुरुङबारे छानबिन गर्न समिति गठन

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते २१:०६ मा प्रकाशित

काठमाडौं, २८ वैशाख-सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङ मन्त्री रहेका बेला तथा त्यसपछि सार्वजनिक रूपमा उठेका सरोकारका विषयमा अध्ययन र छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन् ।
समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्व गृहमन्त्री गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयको सत्यतथ्य अध्ययन तथा छानबिन गरी रायसुझावसहित १५ दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
यसअघि गुरुङले २०८३ वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनीमाथि विवादित व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारी र शेयर लगानी रहेको आरोप लागेको थियो ।

सम्पत्ति विवरणमा उल्लेख नगरिएको शेयर लगानी सार्वजनिक भएपछि उनीमाथि नैतिक र राजनीतिक दबाब बढेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us