रास्वपा कार्यकर्ताप्रति रामेश्वर खनालको टिप्पणीः दानवी चरित्रका गालीगलौज जत्था पालेर शासन धेरै चल्दैन

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते २०:४० मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वलाई गाली गलौजमा उत्रने जत्था नपाल्न आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खनालले व्यक्तिगत विचार व्यक्त गरिएकै आधारमा गालीगलौजमा उत्रने जत्था नपाल्न आग्रह गरेका हुन् ।

जनताको अद्भूत विश्वास भएका नेताले त्यस्ता कार्यकर्ता किन पाल्नुपरेको भन्ने प्रश्नसमेत गरेका छन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा केही असल, चरित्रवान मित्रहरू हुनुहुन्छ । जनताको अद्भूत विश्वास छ । तर, स्वतन्त्र व्यक्तिले समसामयिक विचार व्यक्त गर्दा पनि जथाभावी व्यक्तिगत गाली गर्न तम्सिने जत्था किन पाल्नु पर्यो ?’, खनालले प्रश्न गरेका छन् ।

यसअघि पनि अरिङ्गाल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न भएको उनले स्मरण गराए ।

यस्तो प्रयत्न ठीक नभएको भन्दै उनले यसरी केही समय चल्ने र , त्यसपछि मानिस निराश हुने उल्लेख गेका छन् । व्यक्तिगत गालीगलौजमा उत्रिने जत्थालाई निरस्त्र गर्न पनि खनालले माग गरे ।

असल विचारहरूले नै समाज विकास हुने बताउँदै खनालले गालीगलौजको दानवी चरित्र त्याग्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us