काठमाण्डू, ३१ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) जर्मन तानाशाह हिटलर बन्न खोजेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन नआएपछि बिहीबार साँझ विपक्षी दलले संसद् बैठक बहिस्कार गरे ।
त्यस क्रममा सभामुखसँग समय मागेर बोल्ने क्रममा उनले प्रधानमन्त्रीमाथि हिटलर बन्न खोजेको आरोप लगाएका हुन् । त्यसका लागि उनले हालका परराष्ट्रमन्त्रीसमेत रहेका रास्वपा सांसद शिशिर खनालले अघिल्लो संसदमा बोलेको विषयको सहारा लिए ।
‘मरो प्रश्न प्रधानमन्त्रीज्यूलाई तपाईं के हिटलर बन्दै हो ? यो मेरो प्रश्न होइन, रास्वपाका सांसद माननीय परराष्टन्मन्त्रीले अघिल्लो संसदमा उठाएको विषयवस्तु हो’, उनले भने, ‘अघिल्लो संसदमा त्यही विषय सही हुने ? यो संसदमा त्यही कुरा गलत कसरी हुन्छ ?’ ।
शाहीले प्रधानमन्त्रीले संसद छलेर अप्रजातान्त्रिक व्यवहार प्रदर्शन गरेको आरोप लगाए । बहुमतको नाममा संसदको गरिमा र मर्यादा कुल्चँदै जाने हो भने भविष्यमा पनि प्रधानमन्त्रीले संसद छल्ने परम्परा बस्ने बताए ।
‘तपाईहरुसँग बहुमत छ र जनसमर्थन छ । पहिलापहिला गाउँघरतिर भन्ने गर्थे, बाघले बाख्रा मार्यो भन्दा पनि बाघ पल्कियो भन्ने चिन्ता हो । संसदलाई प्रधानमन्त्रीले आज छल्ने परम्परा हुने हो भने बालेन शाह २० वर्षको प्रधानमन्त्री त होइन’, उनले भने, ‘अब आउने भावी प्रधानमन्त्रीहरुले संसद् छल्ने परम्परा यदि बन्यो भने यो देशको प्रजातन्त्र कहाँ जान्छ ? आज हाँस्ने प्रिम मेरा माननीय साथीहरु भोलि रुनुपर्ने दिन आउन सक्छ । विषय वस्तु सिर्फ प्रधानमन्त्रीको अनुहार हेर्ने होइन ।’
संसदका आफूहरुले उठाएको विषयवस्त कुनै व्यक्ति विशेषको आलोचनाका लागि नभई संसदको गरिमा, जनताको अभिमत र प्रजातान्त्रिक अभिमतको विषय भएको टिप्पणी गरे ।
‘प्रधानमन्त्रीलाई हामीले यहाँ केबल औपचारिक भाषण गर्न वा अनुहार देखाउन बोलाएका होइनौं देशको नीति निर्माणको नेतृत्व गर्न बोलाएका हौं । प्रधानमन्त्रीको काम के हो ? नीति बनाउने, नीति कहाँ बनाइन्छ यही संसदमा । प्रधानमन्त्रीलाई यहाँ भाषण गर्न होइन । काम गर्न बोलाएका हौं । सम्माननीय सभामुख महोदय । प्रधानमन्त्रीको मुल दायित्व भनेको नीति निर्माण गर्नु हो र नीति निर्माण गर्ने सर्वोच्च थलो संसद् हो , कुनै गोप्य अँध्यारो कोठा होइन । जनताको सार्वभौम संसदलाई बेवास्ता गरेर देश चलाउने मानसिकता प्रतान्त्रिक संस्कारविपरीत छ’, शाहीले भने ।