साततलेका मालिक इन्द्र चाम्लिङको प्रश्नः सरकारले नै नक्सापास गरेको घर कसरी अवैध भयो ?

काठमाण्डु टुडे २०८३ वैशाख २० गते १२:३४ मा प्रकाशित

काठमाण्डू, २० वैशाख– काठमाण्डूको अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घर अन्ततः भत्काइएको छ । घरधनीले जग्गाको लालपूर्जा र नक्सापास देखाउँदा देखाउँदै पनि उक्त घरमा डोजर चलेको हो । यो घरका घरधनी इन्द्र चाम्लिङ हुन् ।

सरकारले डोजर चलाउने हल्लापछि उनले घरबाहिरै आफ्नी छोरीको नाममा रहेको जग्गाको लालपूर्जा र नक्सापास घरको भित्तामा टाँसेका थिए । लगातार तीन दिन सरकारी बिदा परेकाले उनले अदालतबाट अन्तरिम आदेश ल्याउन पाएनन् ।

घर भत्कनुअघि चाम्लिङले आफूले कुनै सरकारी जग्गा नहडपेको दाबी गरेका छन । उनले भने, ‘म सरकारी जग्गा हडेपेर सुकुम्वासी भएर बसेको होइन । नेपाल सरकारले अनुमति दिएर घर बनाएको हो । जग्गाधनी पूर्जा छ । नक्सापास भएको छ । राजश्व तिरिएको छ । यो घर कसरी भत्काउन मिल्छ ?’ उनको प्रश्न छ । पोहोर पनि घर भत्काउने हल्ला चलेपछि उनी उच्च अदालत गएका थिए ।

अदालतले यो सरकारी जग्गा होइन भनेर ठहर्याएको चाम्लिङ बताउँछन् । उनी थप्छन्, ‘अदालतले यो व्यक्तिको जग्गा हो भनेर वडा कार्यालय र महानगरपालिकालाई समेत पत्र दिएको छ । मालपोत, नापीले दिएको पूर्जा प्रमाण छ ।

वडा कार्यालयले दिएको नक्सा छ । सरकारले राजश्व बुझेको छ । अनुमति दिने उही । नक्शा पास गर्ने उही । राजश्व लिने उही । अहिले भत्काइदिने पनि उही ?’ चाम्लिङ पछिल्लो समय श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग निकट छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us