प्रेस स्वतन्त्रताले लोकतन्त्र बलियो बनाउँछ: राष्ट्रपति पौडेल

काठमाण्डु टुडे २०८३ वैशाख २० गते ८:२२ मा प्रकाशित

काठमाडौं : रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक आन्दोलनहरूमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।
उनका अनुसार प्रेस स्वतन्त्रता सञ्चारमाध्यमको मात्र विषय नभई नागरिकको सुसूचित हुने संवैधानिक अधिकारसँग जोडिएको छ। “प्रेस निष्पक्ष र स्वतन्त्र हुँदा लोकतान्त्रिक प्रणाली अझ सुदृढ हुन्छ,” उनले भनेका छन् ।
पत्रकारहरूलाई सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता आवश्यक रहेको उनले औंल्याएका छन्। संविधानले दिएको अभिव्यक्ति र प्रेस स्वतन्त्रताको अधिकारलाई व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले स्वतन्त्र पत्रकारिताले सत्यको खोजी गर्दै तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालबाट फैलिने भ्रामक र अपुष्ट सूचनाले नागरिकलाई भ्रमित बनाउने चुनौती बढ्दै गएको उनले बताएका छन् ।
यस्ता चुनौतीलाई सामना गर्दै विश्वसनीय र सत्य सूचना सम्प्रेषण गर्न नेपाली सञ्चार क्षेत्रले अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

साथै, संविधानप्रदत्त अधिकारको संरक्षण गर्दै निर्भय पत्रकारिता अघि बढोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us